नवलपरासी पश्चिम । अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट सुस्ता गाउँपालिका वडा नं. १ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका संचालक बर्दघाट नगरपालिका(४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विक शनिबार साँझ घाइते भएका छन् ।
गजेन्द्रले पसल बन्द गरी लु ४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका वडा नं. १६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटर समेत लिई फरार भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो । तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो । उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुनः थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।