काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाएको बताएका छन् ।
बालकुमारीमा गत शुक्रबार युवाहरूले प्रदर्शन गरिरहेको ठाउँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाउने काम गरेको बताएका हुन ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकलाई जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले ईपीएस कार्यालय प्रमुखले सकरात्मक भूमिका नखेलेको, युवाहरूले अनियन्त्रित प्रदर्शन गरेको र मन्त्रीको सुरक्षामा खटिएका अधिकारीहरूले प्रभावकारी भूमिका नखेलेकाले जवाफ दिएका छन ।
गृहमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यतायातमन्त्रीको पीएसओले जिम्मेवारी पूरा नगरेको पनि बताए ।
‘पीएसओले बाटो चेक गर्छ । कन्ट्रोल रूमबाट भएको कुरा पनि वाकिटकीमा सुनिरहेको हुन्छ । तर मन्त्री आर्मीको सेक्युरिटी गार्ड र पीएसओ लिएर जानुभएको छ। त्यसले यो घटनालाई अर्को मोडतिर जानका लागि भूमिका खेलेको छ,’ उनले भने ।
यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।