काठमाडौं । गत पुस १३ गते दुई जनाको ज्यान जाने गरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने निर्णय गर्दै सरकारले त्यसका लागि जाँचबुझ आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो ।
उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन र विश्लेषण गर्ने र घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने जिम्मेवारी दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।
आयोगले घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस जिम्मेवारी पनि पाएको छ । आयोगलाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेश गर्ने कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी दिइन ।