Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जबरजस्ती करणीमा सन्दीप लामिछाने दोषी ठहर

जबरजस्ती करणीमा सन्दीप लामिछाने दोषी ठहर

दैनिकी न्यूज

१४, पौष २०८०
जबरजस्ती करणीमा सन्दीप लामिछाने दोषी ठहर
images

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

उनले भने, ‘परिवर्तित नाम गौशाला २६ (६) २०७९–०८० को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सन्दीप लामिछाने भएको जबरजस्ती करणी मुद्दामा ८ गतेदेखि लगातार सुनुवाइ भई बहस भएको थियो । परिवर्तित नाम गौशाला २६ (६)२०७९–०८० को जाहेरी दर्खास्त प्रतिवादी सन्दीप लामिछानेको बयान परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९–०८० राजन राणा, बाबुकाजी थापा मग, सविन श्रेष्ठ, अनिष श्रेष्ठ, समीर पुरी, सन्तोषप्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम, देव खनालसमेतले गरिदिएको घटना विवरण कागज र निजहरूको बकपत्र लगायत संलग्न सिसिटिभी फुटेजको आधारमा परिवर्तित नामा गौशाला २६ (६) (१) २०७९–०८० तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौँदेखि नगरकोट गइ पुनः काठमाडौं आइ होटल काठमाडौंको एउटै कोठामा बसेको देखिन्छ । सो कुरामा वादी, प्रतिवादीको विवाद रहेको समेत देखिँदैन । राती एउटै कोठामा बसेको अवस्था देखिएको सो समयमा परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९–०८०ले करणी भएको भनेको र परिवर्तित नाम गौशाला २६ (६( (१) २०७९–०८० तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९–०८० का बीचमा करणी भएको देखियो । रालुका गाविस नुवाकोटको बसाईंसराई दर्ता रजिस्टार शंखरापर नगरपालिका काठमाडौंको बसाईसराई दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरी रजिस्टर, परिवर्तित नाम गौशाला २६ (६) २०७९–०८० को बकपत्र, तादि गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, नुवाकोटको मिति २०८०–५–०५ गते तथा मिति २०७९–७–२९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९–०८० को जन्म मिति २०६१–३–१८ मा भएकोदेखि बलात्कार हुँदाका दिन निजको उमेर १८ वर्ष पुगिसकेको देखियो । १८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९–०८० नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ । सो संहिताको दफा २१९ (३) (घ) बमोजिमको कसुर कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो अर्थमा पुग्न सक्दैन । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा (न) बमोजिम सजाय निर्धारण सुनुवाइको लागि २०८०–९–२५ गते पेशी तोक्ने । सो मिति अगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायपूर्वक प्रतिवेदन तथा पीडितलाई बढाउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधार समेत पेस गर्नु ।’

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - ०६:५४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology