Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

माओवादीको अभियान समापन हुँदै

माओवादीको अभियान समापन हुँदै

दैनिकी न्यूज

१४, पौष २०८०
माओवादीको अभियान समापन हुँदै
images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ ।

गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले ७५३ स्थानीय तहमा केन्द्रित भई पुस १६ गते जनपरिचालन र सभा गरेर समापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । “अभियानका बेला कार्यक्रम, भेला, समीक्षा, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, समिति गठन पुनर्गठन भएका छन् । त्यसबमोजिम अभियानलाई कार्य योजनामा ढालिने छ,” उहाँले भन्नुभयो, “चारमहिने अभियान समापनपछि स्थायी समिति बैठक बसेर समीक्षा हुने छ । लगत्तै फागुनमा विधान महाधिवेशन गरेर पार्टीलाई व्यवस्थित गर्ने छौँ ।”

पार्टी अभियान प्रभावकारी भएको बताउँदै उहाँले नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम गरेको जिकिर गरे । “पार्टी अभियान एकदमै प्रभावकारी भयो । नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम भयो । चुनाव जितेका क्षेत्रमा नेताकार्यकर्ता सक्रिय भई लागे,” पार्टी उपमहासचिव पोखरेलले भन्नुभयो, “जुन उचाइका साथ जनताको घर घर जाने भनिएको थियो, त्यो तहको अभियान हुन सकेन । सबै समर्थकको घरमा जाने भनिएको जान सकिएन ।” उनले पार्टीको चारमहिने अभियान सफल भएको निष्कर्ष निकालिएको बताए । उनले यस अभियानमा धेरै नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गसँग भेटेर साक्षात्कार गर्दा राम्रो सन्देश गएको बताए ।

यसै सन्दर्भमा माओवादी केन्द्रका कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टी अभियान पुस २० गतेसम्म सक्ने जानकारी दिए । उनले भने, “पार्टी अभियान समापनतिर गएको छ । पुस १६ गतेदेखि २० गतेसम्म सबै पालिकालाई आआफ्नो अनुकूलतामा समापन गर्न अनुरोध गरेका छौँ ।” पार्टी सदस्यता नवीकरण धेरै कम भएको बताउँदै कोशीमा ६० प्रतिशत सदस्यता मात्रै नवीकरण गर्न सफल भएको बताए ।

यस्तै माओवादी मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले पुस १६ गते अभियान समापन गर्ने तयारी रहेको बताए । चारमहिने अभियानबाट उथलपुथलै नभएको बताउँदै उहाँले नेताकार्यकर्तालाई जनताको घरदैलोमा पु¥यााएर पार्टी जनतातिर फर्काउन सफल भएको बताए । यस अभियानबाट पार्टी सङ्गठन पुनर्गठन गरेर व्यवस्थित बनाएपछि ९० प्रतिशत नेताकार्यकर्ता सक्रिय भई लागेको दाबी गरे । माओवादी जिल्ला पार्टी कार्यकारी भूमिका बनाउन नसक्दा राम्रो हुन नसकेको सुझाव आएको बताउँदै उनले आगामी विधान सम्मेलन लगत्तै जिल्ला समितिलाई कार्यकारी भूमिका दिने गरी बनाउने बताए ।

माओवादी बागमती प्रदेशसहित उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशले संयुक्त रूपमा अभियान चलाएका छन् । माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पुस १६ गतेसम्म वडा सम्मेलन पूरा भई पार्टी सदस्यता नवीकरणको काम गर्ने तयारी रहेको बताए । “अहिले वडा सम्मेलन भएकाले अन्तिम चरणमा पु(याएका छौँ । पार्टीको निर्धारित मितिभित्र सम्मेलन सक्ने छौँ,” उनले भने, “चार महिनासम्म पार्टी नेताकार्यकर्ता सक्रिय र चलायमान भए । निष्व्रिmय भएका साथीहरू अभियानमा जोडिनुभयो । चुनावै नभए पनि नेताकार्यकर्ता गाउँ पस्दा राम्रो सन्देश गयो ।” पुस १९, २० र २१ गते तीन प्रदेशको संयुक्त भेला भएपछि अभियान सकिने उनले बताए । “हामीले अभियान सकिएपछि प्रदेशको रिपोर्ट तयार गर्ने छौँ । त्यसमा राजनीतिक, साङ्गठनिक, संरचनागत सबै हिसाबले कसरी अघि जान सकिन्छ भन्ने तय गर्ने छौँ,” उनले भने ।

माओवादी गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले चार महिने अभियान पुस १६ गते पालिका स्तरमा कार्यक्रम राखेर समापन गर्ने जानकारी दिए । प्रारम्भिक चरणमा गण्डकी प्रदेशमा पार्टी अभियान राम्रो भएको बताउँदै उनले सबै रिपोर्ट आएपछि यथार्थ भन्न सकिने बताए । यसै सन्दर्भमा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पुस १६ गते सबै पालिकामा जनप्रदर्शन गरेर अभियान समापन गर्ने जानकारी दिए ।

“हामीले पालिका र जिल्लामा अभियानको समीक्षा गर्ने छौँ । पुस १८ गते प्रदेशस्तरको समीक्षा गरेर अभियानमा जोडिएका साथीलाई बिदाइ गरिने छ,” उनले भने, “अभियानका दौरान सङ्गठन विस्तार, जनपरिचालन, जनश्रमदानले पार्टीप्रति जनतामा सकारात्मक सन्देश गयो । पार्टी सदस्यता नवीकरण सोचे जस्तो रफ्तारमा लग्न सकिएन ।”

माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले पार्टी अभियान पछिल्लो चरण भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भई काम गरेको बताए । “जाजरकोटमा गएको भूकम्पले गर्दा सोचे जस्तो अभियान अघि बढ्न सकेन । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको क्षेत्रमा केन्द्रित भयौँ,” उनले भने, “पार्टीका लक्ष्य पूरा गर्न थोरै समस्या भयो । पार्टी सदस्यता नवीकरण सबै पूरा गर्न बाँकी छ । कार्यकर्ता र जनताको तहमा जुन माहोल ल्याउनुपर्ने थियो सकिएन ।”

दसैँतिहारलगत्तै हिमाली जिल्लामा मौसमका कारण अभियान प्रभावकारी रूपमा लग्न नसेको उनले बताए । पार्टी अभियान पुस १६ गते समापन गरे पनि बैठक, भेला र समीक्षा जारी राखिने उहाँले बताए ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिनारायण चौधरीले प्रदेशका नौ जिल्लामा ८० कमान्ड बनाएर काम गरेकाले पुस १६ गते नै अभियान समापन गरिने बताए । “यो पटक पार्टीभित्रका अन्तर्विरोध हल भएका छन् । यसले केन्द्रीय नेताहरूलाई धेरै बुझ्ने अवसर भयो । पार्टीभित्रका गुट उपगुटलाई अभियानले निरुत्साहित ग¥यो,” उनले भने, “पार्टीलाई जनतासँग सहकार्य गर्ने वातावरण बनाएको छ । पार्टी जनतातिर फर्किएको छ । अभियानले राम्रो ग(यो ।” अभियान सकिए पनि समीक्षा बैठक बसेर प्रतिवेदन तयार गरी पार्टीलाई बुझाउने उनले बताए ।

यो खबर आजको गोरखापत्र दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - ०८:१२:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology