ललितपुर । नेपाली कांग्रेसका सभापति थथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ भन्ने धारणा राखेका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आइतबार केन्द्रीय कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले सबैले नेपाल पुकार पत्रिका पढेर धारणा वनाउनेछन् भन्ने विश्वास रहेको बताएका हुन् ।
'नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढेर सबैले नेपाली कांग्रेसका बारेमा जान्नेछन् । जनताले नेपाली कांग्रेसका बारेमा आफ्नो धारणा बनाउनेछन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।' सभापति देउवाले भने ।
उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकारको अर्को अंक सुशासन विशेषाँकका रुपमा आउनुपर्ने धारणा राखेका थिए।
'अहिले सुशासनको राजनीतिको खडेरी परेको अवस्था छ। यो अवस्था सुशासनका बिषयमा केन्द्रीत रहेर अर्को अंक आउनुपर्छ । चुनावमा जिताइदेउ भन्ने मात्रै हाम्रो मिशन हैन, सुशासन पनि हाम्रो मिशन हो । यसका लागि हामीले संस्कार र राजनीति प्रवृत्तिमा वदल्न आवश्यक छ ।' उपसभापति गुरुङले भने ।
उनले गरिबी, रोग, भोक र अशिक्षा हाम्रो प्रमुख शत्रु हो भन्ने आधारमा अगाडि बढ्नुपर्छ भन्दै नेपाली राजनीतिलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्ने बताए ।
महामन्त्री गगन कुमार थापाले कुशासनले नागरिकहरु आजित भएका छन् भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
'नेपाली कांग्रेस समुन्नतिको बारेमा विचार प्रवाह गर्न चाहान्छ । यसमा नेपाल पुकार पत्रिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पुर्याउन महत्त्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ । हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौ । यसले सार्थकता पाउन नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।' महामन्त्री थापाले भने ।
सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको बैचारिक सन्देश प्रवाह गर्न मुखपत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेका थिए ।
कार्यक्रममा पूर्वउपसभापति गोपालमान श्रेष्ठ,प्रचारप्रसार विभागका पूर्वप्रमुख मिनेन्द्र रिजाल, नगरपालिका महासंघका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुंगाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले मन्तव्य राखेका थिए ।