धादिङ । आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको आरोपमा धुनिवेशी नगरपालिका वडा नं. ४ जीबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
रामचन्द्रले सोही नगरपालिका वडा नं. १ डुम्रेचौरस्थित कच्ची सडकमा पवित्रालाई धारिलो हतियार चक्कु प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाह र प्रहरी चौकी जीबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा मृतक महिला घोप्टो अवस्थामा रहेको, घाँटी लगायत शरीरको विभिनन भागमा चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय धादिकका प्रमुख, प्रहरी निरीक्षक गौतम मिश्रले बताए ।
तत्काल घटनास्थलबाट भागी फरार रहेका रामचन्द्रलाई मोबाइल नम्बरको प्राविधिक विश्लेषण गरी खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिक वडा नं. ७ खानीखोला बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
रामचन्द्र र पवित्राबीच ५/६ वर्ष अगाडि विवाह भएको, विवाह पश्चात रामचन्द्र विदेशिक रोजगारीको लागि विदेश भएदेखि मनमुटाब भएको प्रहरी उपरीक्षक मिश्रको भनाई छ ।