Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

१० दिने बृहत दोलखा महोत्सव पुष १३ गतेदेखि शुरु हुँदै

१० दिने बृहत दोलखा महोत्सव पुष १३ गतेदेखि शुरु हुँदै

दैनिकी न्यूज

१५, मंसिर २०८०
१० दिने बृहत दोलखा महोत्सव पुष १३ गतेदेखि शुरु हुँदै
images

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा १० दिने बृहत दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष १३ गतेदेखि २२ गतेसम्म महोत्सव हुन लागेको हो । विहीबार पत्रकार सम्मेलन गर्दै संघले महोत्सवको बारेमा जानकारी गराएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै जिल्लाको परिचय बाह्य क्षेत्रमा चिनाउने उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष इन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खस्कँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाइ उकास्ने साथै दोलखा जिल्लामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याई दोलखा जिल्लालाई सम्बृद्ध बनाउनका लागि महोत्सवले ठूलो भूमिका खेल्नेछ ।

महोत्सवमा औद्योगिक, हस्तकला, कृषि लगायतका प्रदर्शनी हुनेछन् । स्थानीय खानाका परिकारको स्वादसँगै मनोरन्जनात्मक कार्यक्रम, मनोरन्जनात्मक खेलहरु, धार्मिक, पर्यटकिय एवं ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रदर्शनी, जिल्ला स्तरिय खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत हुने संघले जनाएको छ ।

महोत्सव अवधिभर दोहोरी गीत तथा जातिय भेषभूषा प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, विभिन्न झाँकी प्रदर्शनी लगायत विभिन्न खेलकुद प्रतियोगिता हुनेछ ।

महोत्सवकै अवसरमा चरिकोट टुँडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी समेत संचालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनका विभिन्न स्टल रहने छन् । जिल्लाका उत्कृष्ट कृषक र उद्यमीहरु साथै दोलखाका रत्नहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम तय भएको छ । साथै दोलखाका ९ वटै स्थानीय तहहरुसँग आर्थिक बहस समेत संचालन गरिने संघले जनाएको छ ।

महोत्सव स्थल प्रवेशका लागि बिद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई सम्पूर्ण कार्यक्रममा विशेष छुटको ब्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - २०:३४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology