काठमाडौं । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।
आज सो इजलाशमा टिकटकबारेको रिटको पेशी तेस्रो नम्बरमा रहेको छ ।
टिकटक प्रतिबन्धबारे सर्वोच्चमा १४ वटा रिट परेको छ । सोमबार थप ४ रिट परेसंगै रिट संख्या १४ पुगेको हो । १४ वटै रिटको सुनुवाई एकै साथ हुने छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।
सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ ।
कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।