ललितपुर । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौं भने गुणात्मक विकास गर्न सक्दैनौं भन्ने धारणा राखेका छन् । गोदावरी नगरपालिका वडा नं. १४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरू बुद्धिबहादुर श्रेष्ठ, हरि बहादुर मुल्मी, न्हुच्छेँ दास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री शर्माले वर्तमान युग सूचना प्रविधिको युग भएको र सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौं भने गुणात्मक विकास गर्न सक्दैनौं भन्ने धारणा राखेका थिए ।
ूवर्तमान युग सूचना प्रविधिको युग हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौं भने गुणात्मक विकास गर्न सक्दैनौं । सामाजिक सञ्जालको दुरुपयोग हुँदा कुलत बढेको छ । यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रीपरिषदले निर्देशिका समेत पारित गरिसकेको छ ।ू मन्त्री शर्माले भने ।
विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको वताउनु हुँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गरे ।
संविधानले १२ कक्षा सम्मको शिक्षालाई निशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको वताउँदै उहाँले सामुदायिक विद्यालयहरुको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।
सम्मानित व्यक्तित्व तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको सम्झना गर्दै अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गरेर नतिजामा सुधार ल्याउन प्रयास गरेको बताए।
'२०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक थियो । हामीले स्थानीय तहबाट अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सबै विद्यालयलाई सुधार गर्न लाग्यौ, जसले सुधार आउन थाल्यो । अहिले पनि नतिजामा सुधार भैरहेको छ ।' नगरप्रमुख महर्जनले भने ।
उनले गुणस्तरीय शिक्षा दिइरहेको अवस्थामा नगरपालिका भित्रका विद्यालयहरुमा पूर्वाधारहरुको अवस्था सुधार गर्नुपर्ने आवश्यक छ भन्दै पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक र अभिभावकहरुको चासो बढेको प्रष्ट पारे ।
विद्यालयका प्रधानाध्यापक गोपाल कुमार पाण्डेले वि।सं २०१६ साल वैशाख २५ गते स्थापित विद्यालयले २०४२ देखि एस एलसीमा सहभागी भएको जनाउँदै आफू २८ वर्षदेखि कार्यरत रहेर विद्यालयको शैक्षिकस्तर अभिबृद्धिमा निरन्तर लागि परेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले संस्थापकहरुको सालिक स्थापना गरेर योगदानको सम्मान गर्ने परम्परा स्थापित गर्न चाहेको बताए ।