Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

राजनीतिक अस्थिरता र अराजकता चुनौती बन्न पुगेको छ : महासचिव पोखरेल

राजनीतिक अस्थिरता र अराजकता चुनौती बन्न पुगेको छ : महासचिव पोखरेल

दैनिकी न्यूज

२३, कार्तिक २०८०
राजनीतिक अस्थिरता र अराजकता चुनौती बन्न पुगेको छ : महासचिव पोखरेल
images

ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र अराजकता चुनौती बन्न पुगेको बताएका छन् । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आज (बिहीबार) ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाइट पार्टी भेन्यूमा आयोजित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै पोखरेलले अस्थिरता र अराजकताका कारण समस्या सृजना भएको भन्दै आफूहरु प्रतिपक्षमा रहँदा पनि सरकारभन्दा जिम्मेवार भएर काम गर्न चाहान्छौं भन्ने धारणा राखे।
‘जनतामा आश र राष्ट्रको आवश्यक हुँदाहुँदै पनि हामी सरकारमा रहँन सकेनौं। एमाले सरकारबाट बाहिरिँदा जनतामा निराशा छाएको छ । राजनीतिक अस्थिरता बढेको छ । मुल्य वृद्धि ९ प्रतिशतभन्दा माथि पुगेको छ, एमाले सरकारमा हुँदा मुल्य वृद्धि ५ प्रतिशतभन्दा तल थियो ।' महासचिव पोेखरेलले भने ।

उनले चाडपर्वले समाज, परिवार र राष्ट्रलाई जोड्ने र हाम्रोजस्तो संस्कार भारतीय समाजमा पनि छैनभन्दै दशैं, तिहार हिन्दुहरूको मात्रै चाडपर्व हैन भन्ने जिकिर गरे।

नेपालमा भन्दा धेरै हिन्दुहरु भारतमा छन् भन्दै उनले त्यहाँ हाम्रो जस्तो संस्कार र संस्कृति छैन भन्ने धारणा राखे। पछिल्लो समय जातजात, धर्म र पहिचानका नाममा नेपालको मौलिक संस्कृतिमाथि प्रहार गर्ने गतिविधिहरु भैरहेको भन्दै पोखरेलले राष्ट्रलाई कमजोर पार्ने र समाजलाई विभाजित गर्ने गतिविधिहरु भैरहेको र नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्ध लाग्नु आवश्यक रहेकोमा जोड दिए ।

पूर्वमन्त्री, एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर इन्चार्ज शेरबहादुर तामाङले एक महिनाभित्र ललितपुरका वडाभित्र टोल कमिटी गठन गर्ने र मंसिरको अन्त्यतिर जिल्ला प्रतिनिधि परिषदको भेला गर्ने तयारी बताउँदै चाडपर्वहरूको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राखे।

त्यस्तै, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंङ्गेलले विश्वमा नेपालको काठमाडौं उपत्यकाको संस्कृति र सभ्यता उत्कृष्ट रहेको भन्दै सद्भाव र सहिष्णुतापूर्वक सद्भाव र एकतालाई कायम गर्दै चाडपर्व मनाउन आग्रह गरे।

बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवालले भ्रष्टाचार र अन्यायको विरुद्धमा बोल्नु पर्ने अवस्थामा पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्ताहरु कताकता अल्मलिएको अवस्था छ भन्दै पार्टीमाथि लागेको आक्षेपहरुलाई गलत सावित गर्दै चुनौती दिने गरी सबै लाग्न आग्रह गरे । उनले स्थानीय पार्टी पंक्तिलाई कमिटीका बैठक बसेर जनताका समस्यामा जोडिने गरि लाग्न आग्रह गरे ।

बागमती प्रदेश कमिटीका उपसचिव तथा ललितपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम बहादुर महर्जनले विगतका निर्वाचनमा भोगेको क्षतिबाट पाठ सिकेर भविष्यमा सानदार जीत हासिल गर्ने गरि लाग्न शक्ति मिल्नेछ भन्ने विश्वास व्यक्त व्यक्त गरे ।

जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेकपा (एकीकृत समाजवादी) मा गएकाहरुलाई पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्कन आग्रह गरे ।

कार्यक्रममा ललितपुरको महालक्ष्मी नगरपालिकाका दुई दर्जनभन्दा बढि एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २१:२८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology