Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेल्दा खेल्दै एकै रातमा ३९ जना पक्राउ

जुवातास खेल्दा खेल्दै एकै रातमा ३९ जना पक्राउ

दैनिकी न्यूज

२२, कार्तिक २०८०
जुवातास खेल्दा खेल्दै एकै रातमा ३९ जना पक्राउ
images

काठमाडौं । काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका-५ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो ।

स्याङ्जा, पुतलीबजार नगरपालिका-८ बाहाकोट घर भई सोही नगरपालिका-४ नौडाँडामास्थित भिम बहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भिम बहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रूपैयाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार १ सय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - १९:३१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology