Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले भेट्यो भूकम्पका घाइते र परिवार

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले भेट्यो भूकम्पका घाइते र परिवार

दैनिकी न्यूज

२०, कार्तिक २०८०
एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले भेट्यो भूकम्पका घाइते र परिवार
images

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावितस्थलतर्फ हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेट गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । आफूसहित महासचिव बुद्धि सुवेदी, निवर्तमान अध्यक्ष रविना थापा, युरोप महिला संयोजक गीता खनाल थापा, अभियन्ताहरु शनि कुमार ओली, ओम शर्मालगायतले घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष शर्माले जानकारी दिए । सो क्रममा घाइतेहरुलाई उपचार र बसोबासमा सहज होस् भन्ने अभिप्रायका साथ एनआरएन टोलीले उपचारमा  सहयोग समेत गरेको थियो  ।

घाइतेहरुलाई भेटेर टोली प्रभावित स्थल जाजरकोट र रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ । एनआरएनएको टोलीले आइतबार नै भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री काठमाडौँबाट पठाएको थियो । १० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित प्रभावित स्थानमा पठाएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्धार कोषमा सहयोग घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले रु २१ लाख, महासचिव सुवेदीले रु १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले रु ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न अभियन्ताहरुले सहयोग घोषणा गरेका थिए ।

 एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फत  राहत वितरण गर्न भनेकाले सरकारी निकाय हरु संग समन्वय गरेर  आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए ।

गत  शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५० भन्दा बढीको मृत्यु भएको छ भने कैयन भौतिक संरचनाहरुमा क्षति भएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - २१:२१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology