Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव

वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव

दैनिकी न्यूज

१५, आश्विन २०८०
वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव
images

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उकास्नका लागि सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने आवश्यकता वोध गरिएको छ । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले विभिन्न आठवटा क्षेत्रमा अध्ययन गरी सो आवश्यकता वोध गरिएको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेका वाणिज्य बैंकहरुलाइ विगतमा थप पुँजी लगानी गरी दिएजस्तै निगमलाई प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धी लाभ अवस्थामा पु¥याउन सरकारले पुँजी थपि दिनुपर्ने सुझाव समितिको दिएको छ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिको अध्ययन अनुसार निगमको संचित कुल ऋण रु ४८ अर्ब ३ करोड छ। निगमले कुल ऋणको करिव १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ । यो ऋणभारलाई घटाउन निगमले व्यापार बृद्धि गरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

समितिले बजार माग अनुसारको सीट आपूर्ति गर्न निगमले स्टोल, ट्रैक र अन्तर्राष्ट्रिय रुटमा चल्ने जहाजहरू थप्नुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ ।

सरकारले पुँजी थपिदिनेका अलावा निगमको नाममा रहेको सोल्टी होटलको शेयर विक्रि गरेर भए पनि जहाज थप्नुपर्ने सुझाव समितिको रहेको छ ।

सोल्टी होटल लिमिटेडमा रहेको निगमको १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता शेयर बेचेर आर्थिक स्रोतको जोहो गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त शेयरको बजार मूल्य प्रतिवेदन तयार गर्दासम्ममा प्रति कित्ता रु. ४४३ रहेको छ । जसको कूल बजार मूल्य रु. ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ हुन आउँछ । सोल्टी होटल लिमिटेडको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने सम्भावनालाई समितिले औंल्याएको हो । अहिले शेयरको मुल्य घटेसँगै सोल्टीको शेयरमुल्य पनि घटिसकेको छ ।

साथै वित्तीय अवस्था सुधार गर्नका लागि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने जनाएको छ । समितिले निगम वर्तमान समयमा पुँजी अभाव, ऋणको र जहाज अभावको चर्को दबाबमा रहेको बताएको छ ।

समितिले तय गरेका आठवटा कार्यदिशा मध्ये व्यवस्थापन र संरचनागत सुधार प्रमुख रहेको उल्लेख गरिएको छ । व्यवस्थापन सुधार अन्तर्गत मुख्यरुपमा पुँजी, ऋण अनुपात अवस्था, संचालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदि’दयगत प्रतिवेदनमा संलग्न गरिएको छ । यसैंगरी संरचनागत सुधारमा मुख्य रुपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संसोधन आदि प्रतिवेदनका हिस्सा रहेको छ ।

निगमको नगद अनुपात, चालु अनुपात र शीघ्र अनुपात पाँच वर्ष यता १ भन्दा कम रहेको समितिले औंल्याएको छ । जहाज क्षमता र बजार व्यवस्थापन कमजोर भएकाले अनुपात कमजोर देखिएको निष्कर्ष समितिको रहेको छ ।

हवाई उडड्यन बजारमा प्रयाप्त मात्रामा यात्रु सीट उपलब्ध (आपूर्ति) गर्दै व्यापार वृद्धि गरी उल्लेखित अनुपातलाई सवल बनाउन सकिने सुझाव दिइएको छ ।

नेपाल वायुसेवा निगम वि।सं २०१५ मा भरपर्दो तथा सर्वसुलभ सुपथ भाडामा सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ स्थापित स्वायत्त संस्था हो।

वि.सं. २०५० सालसम्म नेपाली आकाशमा निगमको उपस्थिति उदाहरणीय रहेको थियो। अहिले नेपाली आकाशमा समेत कमजोर उपस्थिति रहेको निगम ऋण भार र पुँजी अभावमा थलापर्ने अवस्थामा पुगेको छ।

सुधारका लागि बनेको दिपेन्द्र बहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाइ प्रतिबेदन बुझाएको हो । पूर्ब गभर्नर क्षेत्री संयोजक रहेको समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा नेउपाने सदस्य रहेका थिए ।

वि।सं २०१५ सालमा ३८ लाख लगानीबाट शुरु भएको निगम आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा रु ४ अर्ब ९० करोड ऋणात्मक अवस्थामा रहेकोे छ ।

निगमको लेखा प्रणाली पर्याय ढंगले नराख्दा रु. ११ करोड २० लाखको खर्च अमान्य भएको र ढिला शुल्क बापत रु। एक करोड ५५ लाख कर थप हुन गएको प्रतिवेदनमा उल्लेख छ । करको थप भार निगमलाई पर्न नदिनका लागि कर फछर्योट जस्ता महत्वपूर्ण कार्यहरु समयमै गर्न र यर्थाथपरक ढंगले लेखा प्रणाली राख्नुपर्ने देखिएको उल्लेख गरिएको छ।

निगमले विभिन्न शिर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८-०७९ मा रु २ अर्ब १९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । यसको प्रत्यक्ष प्रतिकूल असर निगमको नगद प्रवाहमा परिरहेको छ । उठाउनुपर्ने रकम उठेमा नयाँ विमान खरिदमा सहयोग पुग्ने हुँदा निगमले तदारुकता साथ आफ्नो उठाउनुपर्ने रकम उठाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निगमले बजार व्यवस्थापनतर्फ उपेक्षा गरेको कारण उडान सेवा बजारमा यसको उपस्थिति कमजोर भएका हुँदा यसको ब्रान्डमा नकारात्मक असर परिरहेको पनि उल्लेख गरिएको छ । बजार व्यवस्थापन ’दयगत कमजोर र स्पष्ट रणनीति नहुँदा निगमको बजार उपस्थिति कमजोर देखिएकोले बजार उपस्थिति प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ ।

विमानस्थलको भूमिस्थ सेवा संचालन गर्न आवश्यक उपकरणमा निगमले ठुलो रकम लगानी गरी सकेकोले भूमिस्थ सेवा संचालन गर्न निगमलाई नै निरन्तरता दिनु न्याय संगत हुने सुझाव पर्यटन मन्त्रीलाई दिइएको छ ।

नेपाल वायुसेवा निगममा अध्यक्ष र प्रवन्ध निर्देशकको टकराव देखिएको कुरालाई दृष्टिगत गरी ऐन संसोधन गरी मन्त्रालयका सचिवलाई पदेन अध्यक्ष हुने प्रावधान राख्नुपर्ने सुझाव पनि दिइएको छ ।

यसंैगरी प्रमुख कार्यकारी नियुक्ति राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक भएको समितिले निर्धारित गरेको छनौट विधि अनुसार खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने पनि सुझाव दिइएको छ । त्यसका लागि ऐन संसोधन गरी उक्त प्रावधान राख्नुपर्ने पनि उल्लेख गरिएको छ ।

निगमलाई कम्पनीको मोडलमा लगी रणनीतिक साझेदार सहित कम्पनी संचालन गर्ने सुझाव पनि दिइएको छ ।

यो खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०६:५१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology