काठमाडौं । प्रतिनिधि सभा सदस्य, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ।
हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्।
नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए।
नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बनेका थिए। उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।
उनी जनआन्दोलन २०६२– ०६३ सँगै पुनः स्थापित संसदको सभामुख बनेका थिए।
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।
उनी वि.सं २०३२ देखि २०६३ सम्म भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका थिए ।
त्यसैगरी वि.सं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।