ललितपुर । युएई, थाइल्यान्ड र कुवेतका लागि नेपालकातर्फबाट नवनियुक्त राजदुतहरुले नेपालको निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार बताएका छन् । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा धारणा राख्दै राजदुतहरुले सम्बन्धित देशका व्यापार सम्वद्ध संघसंस्थाहरुसंग भेटघाट गरेर सहजीकरण गर्ने काम गर्छौं भन्ने धारणा राखेका हुन् ।
थाइल्यान्डका लागि नेपाली राजदुत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि काम गरेर पनि रिजल्ट आउन नसकिरहेको धारणा राख्दै जहाँ सम्भावना छ,त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारपूर्वक काम गर्न तयार रहेको प्रष्ट पारे । ‘निर्यात प्रवर्द्धनमा काम गर्छौ, गर्न सक्ने ठाउँ धेरै छन् । व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरु पनि मिलेर काम गर्न सक्ने अवस्था सृजना गर्नु पर्छ ।जागरुकतालाई रचनात्मक बनाउनु पर्यो, विश्वमा अलैंची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बंगलादेशमा नेपाली स्ट्रावेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ । जहाँ सम्भावना छ,त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारपूर्वक काम गर्न तयार छौ ।तपाईंहरुसंग बसेर फोटो खिच्ने र खादा लगाउने रहर हैन।' राजदुत ओलीले भने ।
कुवेतका लागि नेपाली राजदुत घनश्याम लम्सालले समस्यालाई समाधान गर्ने र सहजीकरण गर्ने गरी आर्थिक कुटनीतिका पाँच वटा कामहरु जिम्मेवारीपूर्वक गर्ने वताए ।
'श्रमसँग र व्यापारसँग सम्वन्धित काम हाम्रो प्राथमिकता हो । नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो । आर्थिक कुटनीतिका पाँच वटा कामहरु सहजतापूर्वक सम्पन्न गर्नेछौं । तपाईंहरुको जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदुतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भैरहेको छ । त्यसलाई अझ प्रभावकाकरी बनाउँछौं ।' राजदुत लम्सालले भने ।
युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले नेपालको व्यापार घाटा ठुलो भएको वताउँदै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राखे ।
‘हामीले दिने सेवामा पासपोर्ट, भिजालगायतका कन्सुलर सेवा त छँदैछ, त्यसका अलवा विभिन्न एक्सोमा स्टलहरु निशुल्क गराउन पहल गर्नेछु । नेपालीहरुलाई विदेशमम मेला पर्वहरु गर्न उत्साहित गर्छौ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहान्छु, व्यापार घाटा ठुलो छ, यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती छ । हाम्रा प्रयत्नहरु निरन्तर जारी हुनेछ ।' राजदुत खत्रीले भने । उनले नेपाली व्यापारीले आग्रह गर्दा जहिले पनि सहजीकरण गर्न तयार हुने बताए ।
उनले निर्यात गर्ने उत्पादनलाई प्याकेजिङ र लेवलिङ र व्राण्डिङमा जोड दिनु पर्ने धारणा राखे ।
निर्यात परिषदको अध्यक्ष रेशम पोखरेलले युएईको लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणिकरण र निर्यातको लागि दुतवासले पहल गरिदिनुपर्छ भन्ने धारणा राखे ।
नेपाल डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षमा छुर्पी करिव ३ अर्बको निर्यात भएको पाइन्छ भन्दै छुर्पीको प्याटेन्ट राइट लिनु पर्ने धारणा राखे । उनले अहिले जापानमा घ्यु आवश्यक रहेको भन्दै त्यहाँ कसरी पठाउने त ? भन्ने विषयमा सोच्न सक्दा राम्रो हुने बताए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको वताउँदै त्यहाँका संघसंस्था र आयोजकसंग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्छ भन्ने धारणा राखे । उनले राजदुतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको व्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुन्छ भन्नेमा जोड दिए ।