काठमाडौं । राष्ट्रसेवक निजामती कर्मचारीले आफ्नो मार्गदर्शकको रूपमा रहेको निजामती सेवा ऐनकै महत्वपूर्ण प्रावधानको बेवास्ता गर्दा उनीहरू भ्रष्टाचार र अनियमितताको फन्दामा पर्ने क्रम बढेको छ ।
कर्मचारीलाई निर्देश तथा सञ्चालन गर्ने मुख्य कानुन निजामती सेवा ऐन र नियमावली नै हो । तर, अधिकांश कर्मचारीले सो ऐन र नियमावलीलाई पूर्ण रूपले बेवास्ता गर्दै आइरहेको पाइएको छ । सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको इमान्दारीतापूर्वक सेवा गर्ने कसमसमेत खाने गरेका निजामती कर्मचारीले काम गर्दा भने आफ्नै कसमल बिर्सने गरेका छन् ।
विशेषगरी निजामती सेवा ऐनको परिच्छेद ७ मा कर्मचारीको आचरण सम्बन्धमा महत्वपूर्ण व्यवस्था गरिएको छ । उक्त परिच्छेदको विभिन्न दफामा कर्मचारीलाई अनुशासित, इमान्दार, कर्तव्यनिष्ट तथा सुशासनप्रेमी बनाउने गरी व्यवस्था गरिएको छ । कतिपय कर्मचारीलाई सो परिच्छेद टाउको दुखाइ नै बन्ने गरेको बताइएको छ ।
कर्मचारीले आचरणसम्बन्धी प्रावधानलाई पालना गर्न नसक्दा उनीहरू विभिन्न खाले भ्रष्टाचार काण्डमा मुछिनु परेको जिकिर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुछिने निजामती कर्मचारीको संख्या दिनानुदिन बढिरहेको जनाएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ३ सय १० जना कर्मचारी भ्रष्टाचार मुद्दामा परेका थिए भने आर्थिक वर्ष २०७९÷८० मा ३ सय ५६ जना कर्मचारी भ्रष्टाचार मुद्दामा परेका थिए । अख्तियारका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को २५ दिनमा झण्डै ४५ जना कर्मचारीहरू भ्रष्टाचार मुद्दामा परिसकेका छन् । यस हिसाबले विश्लेषण गर्दा चालु आवमा भ्रष्टाचारमा पर्ने कर्मचारीको संख्या अझै बढ्ने देखिएको छ ।
निजामती सेवा ऐनको परिच्छेद ७ को दफा ४७ मा कामको सिलसिलामा कुनै पनि कर्मचारीलाई दान, उपहार, चन्दा आदि प्राप्त गर्न र कुनै पनि सापटी लिन प्रतिबन्ध लगाइएको छ । यस्तै, दफा ४१ मा समय पालना र नियमितताका बारेमा समेत व्यवस्था गरिएको छ तर राष्ट्रिय सतर्कता केन्द्रले गर्ने हाजिरी छड्केमा सयौं कर्मचारीहरू कारबाहीमा पर्ने गरेका छन् । यसले कर्मचारीले ऐनको दफा ४१ लाई पनि बेवास्ता गर्ने देखाएको छ । यसै गरी दफा ४२ मा निजामती कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारिता र तत्परताका साथ पालना गर्नुपर्ने जिकिर छ । यस्तै, कर्मचारीले सेवाग्राहीप्रति आदरभाव देखाउनुपर्ने प्रावधान ऐनमा भए पनि अधिकांश कर्मचारीहरू सेवाग्राहीसँग झर्कने तथा रिसाउने गरेका छन् । यसै गरी आचरणसम्बन्धी परिच्छेदमा राजनीतिमा भाग लिन नहुने, कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नपाइनेलगायतका प्रावधान रहेका छन् । तर, यस्ता अधिकांश प्रावधानलाई कर्मचारीले बेवास्ता गर्ने गरेको बताइएको छ ।
यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।