Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत सुन तस्करी गर्ने १२ जना पक्राउ

वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत सुन तस्करी गर्ने १२ जना पक्राउ

दैनिकी न्यूज

२६, आषाढ २०८०
वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत सुन तस्करी गर्ने १२ जना पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत करिब साढे २ अर्ब रूपैयाँ बराबरको सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा, धनुषाधाम नगरपालिका-५ बस्ने ३४ वर्षीय नरेश पंजियार, सिरहा पर्टेवा नगरपालिका–१७ बस्ने २४ वर्षीय दिनेश कुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका–४ बस्ने ३६ वर्षीय भुम बहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका–५ बस्ने २५ वर्षीय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी घर भई काठमाडौं सिनामंगल बस्ने २८ वर्षीय विनोद कुमार साह, उनकै श्रीमती २५ वर्षीया सन्जु कुमारी साह, सप्तरी घर भई काठमाडौं सिनामंगल बस्ने २७ वर्षीय देवनन्दन साह, सप्तरी घर भई भक्तपुर ठिमी बस्ने २२ वर्षीय दुर्गा प्रसाद यादव, सर्लाही घर भई काठमाडौं बागबजार बस्ने ५६ वर्षीय निमाई साह, सिरहा लहान नगरपालिका–४ बस्ने शिव सुन्दर राउत र सिरहा लहान नगरपालिका–४ हनुमाननगर बस्ने मोहन कुमार यादव रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको उडानद्वारा कतारबाट आइतबार बिहान आउन लागेका नरेश पन्जियार लगायतका व्यक्तिहरू मार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोद, सन्जु कुमारी, दुर्गा, देवनन्दन उक्त सुन रिसिभ गर्नेको लागि एयरपोर्टमा आउन लागेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा सन्जु कुमारीले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाडौं बागबजारस्थित निमाई साहको सुर्पना ज्वेलर्समा लगि बिक्री गर्ने गरेको खुल्न आएपछि निमाई तथा उक्त कार्यमा सलंग्न शिव सुन्दर र मोहन कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - ०६:३०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology