Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना

नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना

दैनिकी न्यूज

८, चैत्र २०७९
नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना
images

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी,जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएका कार्यसमिति सदस्य इश्वर केसीले जानकारी गराएका छन् । कार्यसमिति २१ सदस्यीय रहेको छ । बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए ।

सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताउदै नवनिर्वाचित अध्यक्ष श्रवण ढुंगानाले अधिवेशनको म्यान्डेट अनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षको लागिरहने प्रतिवद्धता प्रकट गरेका छन् ।

काठमाडौंमा सम्पन्न अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले ब्युरोक्रेसीमा कायम रहेको वर्ग विभेद आफूले अन्त्य गर्ने उद्घोष गरेका थिए । पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उक्त उद्घोष गरेका हुन् ।

मन्त्री मोदीले आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको बताए । जगेडा र फाजिलमा राखेर कर्मचारीलाई काम नदिई बरण्डामै दिन बिताउन बाध्य पार्ने प्रबृत्ति बिरुद्ध आफू रहेको उनको भनाइ छ । कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारी माथि अन्याय गरिरहेको बताए । आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको दावी छ ।

उक्त अवसरमा विशेष अतिथि रहेका नेकपा९माओवादी केन्द्र० का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले परिवर्तन बिरोधीहरुले माओवादीको बिरोध गरिरहेका बताउदै परिवर्तन पक्षधरहरुले त्यसको प्रतिवाद गर्नुपर्ने प्रष्ट पारे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा आवद्ध कर्मचारी पार्टीको बैचारिक सेना समेत भएको भन्दै अध्यक्ष पौडेलले पार्टीले ल्याएको बिचार र एजेन्डा लागू गर्दै परिवर्तनको मर्म अनुरुप जनतालाई सेवा गरी सन्तुष्ट पार्नुपर्नेमा जोड समेत दिए । जनताले लडेर ल्याएको व्यवस्था बलियो बनाउन पार्टीको दुत भएर जनताको घरघरमा पुग्न र जनसेवामा जुट्न उनले निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय अध्यक्ष हरि रावल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १५:४७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology