Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रधानमन्त्री बनेको तीन महिनाभित्र दोस्रो पटक विश्वासको मत लिँदै प्रचण्ड

प्रधानमन्त्री बनेको तीन महिनाभित्र दोस्रो पटक विश्वासको मत लिँदै प्रचण्ड

दैनिकी न्यूज

६, चैत्र २०७९
प्रधानमन्त्री बनेको तीन महिनाभित्र दोस्रो पटक विश्वासको मत लिँदै प्रचण्ड
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन्। गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका दाहालले गत पुस २६ गते पनि विश्वासको मत लिएका थिए।

तर कांग्रेससँग मिलेर १० दलीय नयाँ गठबन्धन बनेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्। प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ।

कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जना सांसद रहेका छन्।

७९ जना सांसद भएको नेकपा एमाले र १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने विश्वासको मत नदिने बताइसकेको छ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत दिनको लागि प्रस्ताव पेश गर्नेछन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - ०७:३३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology