Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजै नयाँ राष्ट्रपति

आजै नयाँ राष्ट्रपति

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
आजै नयाँ राष्ट्रपति
images

काठमाडौं । गणतन्त्र स्थापनापछि देशले आज (बिहीबार) चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति चयन गर्न आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । मतदानलगत्तै साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र तत्कालै दिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

‘बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने, ‘मतदानपछि साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले तत्कालै प्रमाणपत्र दिनेगरी तयारी गरेका छौं ।’

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८२ जना मतदाता कायम भएका छन् । मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेशसभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् । उनीहरू दुवै जना पूर्वसभामुखसमेत हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझसम्म परिणाम घोषणा गर्ने तयारी गरेको छ । त्यसपछि आयोगले निर्वाचित हुने उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ भने आयोगले भोलि ९शुक्रबार० राष्ट्रपति कार्यालयलाई नयाँ राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन बुझाउनेछ ।

उच्च स्रोतका अनुसार नयाँ राष्ट्रपतिलाई साइत हेरेर राष्ट्रपति कार्यालयले २९ फागुनमा पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति विद्यादेवी भाण्डारीको बिदाइ एकै दिन गर्नेगरी २९ फागुनको मिति तय गरेको स्रोतले जानकारी दिएको हो । वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल २८ फागुनसम्म कायम हुने भएपछि २९ फागुनमा नयाँ राष्ट्रपतिलाई शपथ गराइने तयारी भएको हो । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - ०६:१४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology