काठमाडौँ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।
चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी रहेका छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिए । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उनले स्पष्ट पारे ।
कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिए । “अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उनले भने। सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उनको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उनले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन् ।