Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भारतबाट ५ हजार टन गहुँ आयो

भारतबाट ५ हजार टन गहुँ आयो

दैनिकी न्यूज

४, फाल्गुण २०७९
भारतबाट ५ हजार टन गहुँ आयो
images

विराटनगर । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ ।

भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए । गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ ।

त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ । किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ ।

भारत सरकारले नेपालमा गहुँ निकासी गर्न दिने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा माग गर्न प्रकाशित गरेको सूचनाका आधारमा २७ मैदा उद्योगले आवेदन दिएका थिए । मन्त्रालयले ती उद्योगको गतवर्षको उत्पादनका आधारमा ७ प्रतिशत गहुँ दिने निर्णय गरेपछि ३३ हजार टन ती उद्योगले पाउने भएका हुन् । बाँकी १७ हजार टन गहुँ घरेलु प्रयोजनका लागि विक्री गर्ने गरी १६ ओटा व्यापारिक फर्मलाई आयात गर्न दिइएको छ । बजारमा गहुँ अभाव हुन नदिन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । यो खबर आजको र्आिर्थक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - ०६:५४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology