Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्रोतको दबाबले घटाइयो बजेट

स्रोतको दबाबले घटाइयो बजेट

दैनिकी न्यूज

१, फाल्गुण २०७९
स्रोतको दबाबले घटाइयो बजेट
images

काठमाडौँ । राजस्व सङ्कलनले नकारात्मक वृद्धिको लय समातेपछि सरकारले चालू आर्थिक वर्ष २०७९र८० को बजेटको आकार घटाएको छ । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि सरकारले सुरु विनियोजनको तुलनामा १३।५९ प्रतिशतले बजेट घटाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै बजेट दुई खर्ब ४३ अर्ब रुपियाँले घटाइएको जानकारी दिनुभएको थियो । यससँगै चालू आवको संशोधित बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपियाँ पुगेको छ । सरकारले चालू आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँ सुरु बजेट विनियोजन गरेको थियो ।

बजेटका लक्ष्य र उद्देश्य पूरा गर्न प्रतिकूलता सिर्जना भएकाले बजेट संशोधन गरेर घटाउनुपरेको अर्थमन्त्री पौडेलले बताउनुभयो । “स्रोतको हिसाबले अत्यन्त चाप देखिएको छ,” उहाँले भन्नुभयो, “राजस्व पनि लक्ष्यको तुलनामा २४।८ प्रतिशतले घटेको हुँदा धेरै लक्ष्य पूरा हुने अवस्था देखिएन ।” चालू आवको बाँकी अवधिमा बजेट कार्यान्वयनलाई यथार्थपरक बनाउन पनि आकार घटाइएको उहाँले स्पष्ट पार्नुभयो ।

चालू आवको खर्चतर्फ सरकारले चालूतर्फको खर्च घटाएर दस खर्ब २१ अर्ब ९२ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको छ । त्यस्तै पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८५ करोड रुपियाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब १४ अर्ब २१ करोड रुपियाँ खर्च हुने अनुमान छ । विद्यमान कानुनी र संरचनात्मक व्यवस्थाका कारण पनि पुँजीगत खर्च लक्ष्यअनुरूप हुन नसकेको अर्थमन्त्री पौडेलले बताउनुभयो । “यस्तो परिस्थितिमा सुधार गरेर सरकारले संशोधित पुँजीगत खर्च हुने गरी काम अघि बढाउँछ,” उहाँले भन्नुभयो ।

आयातमा लगाइएको प्रतिबन्ध, आर्थिक गतिविधिमा आएको सुस्तता र बाह्य कारणले आम्दानीको मुख्य स्रोत राजस्वमा दबाब परेको अर्थ मन्त्रालयको निष्कर्ष छ । त्यसकै आधारमा मन्त्रालयले राजस्वको सुरु अनुमानमा पनि संशोधन गर्दै आन्तरिक ऋणसहित १३ खर्ब ४१ अर्ब रुपियाँ उठ्ने संशोधित अनुमान गरेको छ ।

मन्त्रालयले चालू आवको छ महिनासम्म सङ्कलित राजस्व लक्ष्यको तुलनामा २४।८ प्रतिशतले कम र गत आवको तुलनामा १५ प्रतिशतले घटेको जनाएको छ । “आर्थिक वर्ष २०२४–२५ पछि दोस्रो पटक राजस्वको नकारात्मक वृद्धि भएको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो । यसबाहेक वैदेशिक अनुदान ३८ अर्ब ८३ लाख रुपियाँ र वैदेशिक ऋण एक खर्ब ७० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - ०८:३६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology