Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मिटरब्याजीको शैली बदलियो, खाली चेकमा सही गराउँदै सम्पत्ति हत्याउँदै

मिटरब्याजीको शैली बदलियो, खाली चेकमा सही गराउँदै सम्पत्ति हत्याउँदै

दैनिकी न्यूज

१२, माघ २०७९
मिटरब्याजीको शैली बदलियो, खाली चेकमा सही गराउँदै सम्पत्ति हत्याउँदै
images

काठमाडौं । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उनी झसङ्ग भएकी थिइन् । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उनले आचार्यको खोजी सुरु गरिन् । नगरपालिकाको वडा नं. ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उनले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको पाइन् ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९९ख० कित्ता नं। १६ ९एक कट्ठा चार घुर० र कित्ता नम्बर १०९६ ९१६ धुर० जग्गा दुई लाख ५० हजार रुपियाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपियाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाएकी थिइन् । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताइन् ।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपियाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपियाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ ।

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपियाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताइन् । बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ । सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए ।

हस्ताक्षर गरिएको खाली चेकमार्फत कारोबार
चन्द्रौटा बजार आसपास क्षेत्रमा ५० भन्दा धेरै जनासँग मिटरब्याजीबाट कारोबार भएको स्थानीय रहिस शाहले बताए । बैङ्कले ऋण दिन नसकेपछि व्यवसायी र स्थानीय बासिन्दाले धेरै ब्याजदरमा कर्जा लिने गरेको चर्चा छ । रुपिन्द्रले कारोबार गर्दा तमसुक नबनाई हस्ताक्षर गरिएका सादा चेक माग्ने गरेको खुलेको छ । केही व्यक्तिको जग्गा नामसारी गरी लगानी गरेको देखिएको छ । शिवराज नगरपालिका–२ का पूर्ववडा सदस्यले समेत रुपिन्द्रबाट रकम लिन जग्गा पारित गराएको स्वीकार गरे । उनले थप कुरा खोल्न चाहेनन् । सो वडाका दुई जना वडा सदस्यले पनि रुपिन्द्रबाट मिटरब्याजीमा पैसा लिएका थिए ।

चन्द्रौटामा इलेक्ट्रिक पसल सञ्चालन गरेका हसनले १४ महिनाअघि साथीका लागि रुपिन्द्रसँग चार लाख रुपियाँ लगेकोमा त्यसमा पनि तमसुक गराइएन । सादा चेकमा नै हस्ताक्षर गराइएको थियो । तमसुक नबनाई रुपिन्द्रले छ लाखको चेक र थप दुई थान हस्ताक्षर गरेको सादा चेक लगेका थिए । ब्याज तिर्न नसकेपछि हसनका साथी भागेर भारतमा लुक्दै आएका छन् । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :माघ १२, २०७९ बिहिवार - ०८:२७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology