काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको हो।
दलहरूबीच भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।
त्यस्तै, नेकपा (एमाले) ले ८ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। यस्तै माओवादीले अब ४ मन्त्रालय पाएको छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो।
राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि दुई मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।
जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन।
सोमबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ।