काठमाडौँ । नेपाली युवाका लागि पहिलो आकर्षक श्रम गन्तव्य बनेको मलेसियामा विभिन्न समस्या पनि बढ्न थालेका छन् । चार वर्ष पहिलेदेखि शून्य लागतमा मात्रै नेपाली श्रमिक मलेसिया पठाउने गरी नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी सम्पन्न भएको छ तर कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले खुलेआम मनलाग्दी पैसा असुल गर्दै आएका छन् । मलेसिया पुगेर पनि त्यहाँका दलाल र कतिपय अवस्थामा नेपाली श्रमिककै कारण पनि समस्या पर्ने गरेको पाइएको छ ।
सेवा शुल्कस्वरूप १० हजार रुपियाँभन्दा बढी लिन नपाइने भए पनि द रिभर ओभरसिज नामक कम्पनीले दुुई महिनाअगाडि मलेसिया जाने १९ जना युवासँग प्रतिव्यक्ति दुई लाख ३० हजार रुपियाँका दरले असुल गरेको थियो । पीडितको मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले उक्त कम्पनीलाई कारबाही ग(यो । प्रतिव्यक्ति दुई लाख ३० हजार रुपियाँ तिरेर पनि १० हजार रुपियाँको मात्रै रसिद प्राप्त गरेका युवाले पैसा तिरेको प्रमाणसहित विभागमा मौखिक उजुरी गरेका थिए । उक्त उजुरीको सबै प्रमाण पुगेकाले विभागले तुरुन्त ‘एक्सन’ लियो ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले उड्ने तयारीमा रहेका युवाले प्रमाणसहित उजुरी गरेको हुँदा म्यानपावरबाट उनीहरूको उडानमा असर नगर्ने गरी सबैको रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “प्रमाणसहित आउने यस्ता उजुरीमा त हामीलाई समस्या नै हुँदैन । सबै कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ, प्रमाणबिना आएका उजुरीमा हामी सक्दैनौँ ।” प्रमाण नभइकन पैसा बुझाएको भन्ने धेरै उजुरी आउँछन् तर त्यस्तोमा हामी केही गर्न सक्दैनौँ । त्यसकारण शून्य लागतमा जाने व्यवस्था भएका देशमा जाँदा पैसा नतिर्न महानिर्देशक आचार्यले आग्रह गरे । यो खबर आजको गोरखापत्र दैनिकमा सीता शर्मा ले लेखेका छन् ।