Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पशुपतिको सम्पत्ति हत्याउन यतिसम्मको फट्याईं

पशुपतिको सम्पत्ति हत्याउन यतिसम्मको फट्याईं

दैनिकी न्यूज

१९, पौष २०७९
पशुपतिको सम्पत्ति हत्याउन यतिसम्मको फट्याईं
images

काठमाडौं । काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलासा भएको छ।

पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं. २ (क) कि.नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफल जग्गा हत्याउने प्रयासमा सोही स्थानमा धर्मशाला सञ्चालन गरिरहेको मारवाडी सेवा समिति लागेको हो । दुवै कित्तामा गौशाला धर्मशालाको उद्देश्यअनुसार सेवा समितिले आफैँले वा आफूअन्तर्गतको सञ्चालक समितिमार्फत साबिकबमोजिम गौशाला धर्मशालाका नामबाट पूर्ण जिम्मेवारी लिएर सञ्चालन गर्ने सम्झौता गरे पनि अहिले आफू मोही रहेको दाबी उक्त संस्थाले गरिरहेको छ।

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले आफूहरू मोही भएकाले हक कायम हुने दाबी गरे । उनले भने, “हामी मोही हौँ, मोहियानी हक लाग्छ।” यता श्री पशुपतिनाथ अमालकोट कचहरी मोही दर्ता प्रमाणपुर्जामा दुवै कित्ताको ‘जोताहा मोहीको नाम, थर र वतन’मा श्री पशुपति गौशाला धर्मशाला उल्लेख छ । अनि कसरी तपाइँहरूको संस्थाले मोहियानी हकदाबी गर्न मिल्छ भन्ने प्रश्नको उत्तरमा उहाँले ‘पछि कुरा गर्दै गरौँला’ भन्ने जवाफ दिए ।

२०६० जेठ १२ गते श्री पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच नौ बुँदे सम्झौतामार्फत धर्मशाला सञ्चालन गरिरहेको उक्त संस्थाका अध्यक्ष गोयलले पशुपति क्षेत्रको मापदण्ड २०५१ विपरीत भवन निर्माण गर्ने तथा जग्गा कब्जा गर्ने नियतले मुद्दा मामिला गरिरहेको दाबी पशुपति क्षेत्र विकास कोषको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले धर्मशाला सञ्चालन गर्ने अभिप्रायले सम्झौता गरिएकाले मोहीको हक नलाग्ने बताए। उनले भने, “जग्गाधनी श्री पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धर्मशाला सञ्चालन गर्नका लागि मात्रै उक्त जग्गा दिने सम्झौता गरेको हो । नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयत्न अस्वीकार्य छ ।” प्रवक्ता अधिकारीले मोहियानी हकका सन्दर्भमा सेवा समितिसँग कुनै सम्झौता नभएको बताए । उनले सेवा समितिले अनावश्यक विवाद निकाले पनि उक्त धर्मशाला र जग्गा कोषकै रहेको प्रस्ट पारे । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - ०७:४५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology