हेटौंडा । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन्।
माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको शुक्रवार र शनिवार बसेको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो। संसदीय दलको नेतामा ४ जनाले आकांक्षा देखाएका थिए।
जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठले दलको नेतामा दावी गरेका थिए।
संसदीय दलको नेतामा जम्कट्टेलको नाम प्रस्तुत भएपछि अर्का दाबेदार सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए।
जम्कट्टेल दलको नेता चयन भएपछि सरलले आफ्नो सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।
सांसद सहयात्री सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए भने जम्कट्टेल धादिङबाट दोस्रोपटक सांसद बन्दै दलको नेता बनेका छन्।