Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पश्चिमी भूभागमा साना भूकम्प निरन्तर

पश्चिमी भूभागमा साना भूकम्प निरन्तर

दैनिकी न्यूज

१४, पौष २०७९
पश्चिमी भूभागमा साना भूकम्प निरन्तर
images

काठमाडौँ । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बुधबार मात्र बागलुङमा छुट्टाछुट्टै केन्द्रबिन्दु भएर लगातार तीनवटा भूकम्प गएको छ। बिहान १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रबिन्दु भएर ४।७ म्याग्नेच्युटको, त्यस्तै खुङ्गा आसपास केन्द्रबिन्दु भएर बिहान २ बजेर ७ मिनेटमा ५।३ म्याग्नेच्युट र फेरि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारीचौर नजिक केन्द्रबिन्दु भएको चार म्याग्नेच्युटको तेस्रो भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपालको गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको इलाकामा लामो समयदेखि ठूलो भूकम्प गएको छैन। त्यसैको परिणामस्वरूप पछिल्लो समय पश्चिमी भूभागमा भूकम्पको हलचल बढी भएको अधिकारीले बताउनुभयो। अहिले गइरहेका सानातिना भूकम्पले सञ्चित भएर रहेको ठूलो भूकम्पीय शक्तिको ऊर्जा सकिने सम्भावना नरहेको पनि उहाँले बताउनुभयो।

तथापि भूकम्पको धक्का बढी जान थालेको भने उहाँले स्वीकार गर्नुभयो। केन्द्रको तथ्याङ्क विश्लेषण गर्दा पनि कात्तिकयता गोरखादेखि पश्चिमका भूभागमा चार म्याग्नेच्युटमाथिका १२ वटा भूकम्प गयो। केन्द्रका अनुसार चार म्याग्नेच्युटभन्दा कमका पनि धेरै भूकम्प गएको छ।

कात्तिक १३ गते बझाङमा ४।६ म्याग्नेच्युटको भूकम्प गयो। कात्तिक २२ गते एकै दिन डोटीमा ५।७ र ४।१ म्याग्नेच्युटका दुईवटा भूकम्प गयो। कात्तिक २३ गते डोटीमा ४२ वर्षयताकै ठूलो ६।६ म्याग्नेच्युटको भूकम्प गयो। त्यस्तै कात्तिक २४ गते बाजुरामा ४।१, कात्तिक २६ गते बझाङमा ५।४, कात्तिक २९ गते अछाममा ४।२ म्याग्नेच्युटको भूकम्प गयो। मङ्सिर महिना भने पश्चिम भूकम्पका दृष्टिकोणले शान्त रह्यो। त्योबीचमा धनकुटा र धादिङमा एक–एकवटा भूकम्प गएका थिए।

त्यसपछि पुस लाग्नासाथ पश्चिमी भेगमा फेरि भूकम्पको धक्का दोहोरिन थालेको केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो। पुस ७ गते दार्चुलामा ४।१ र पुस ८ गते डोल्पामा ४।६ म्याग्नेच्युटको भूकम्प गयो। कोइरालाका अनुसार वि।सं। १५०५ मा पश्चिम नेपालमा आठ म्याग्नेच्युटमाथिको महाभूकम्प गएको थियो। त्यस बेला पनि जमिनमुनि सञ्चित सबै शक्ति बाहिर निस्केको थिएन। उहाँले भन्नुभयो, “नेपालको पश्चिमी चुरे पहाडको फेदी हुँदै भारततर्फ झर्नुपर्ने शक्ति बीचमै कतै अड्केर बसेको छ, त्यसले पनि पश्चिममा ठूलो भूकम्प आउने सम्भावनालाई नकार्न सकिँदैन।”

नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वकै जोखिमयुक्त देशहरूमध्ये एक हो। केन्द्रका अनुसार करिब चार करोड वर्षअघि भारतीय प्लेट र युरेसियन प्लेट एकआपसमा ठोक्किएर नेपालका हिमालय पर्वतहरू बनेको पाइन्छ। सोही ठक्करबाट बनेको संसारकै सबैभन्दा अग्लो सगरमाथा र अन्य उच्च हिमशृङ्खलाहरू नेपालमा बनेका छन्। नेपालको सम्पूर्ण भूभागलाई समथर तराई, शिवालिक, लेसर हिमालय, हायर हिमालय र टेथिस हिमालय गरी पाँच भौगर्भिक क्षेत्रमा विभाजित गरिएको छ। कच्चा पहाडका रूपमा रहेका भू–भाग भएकाले पनि नेपाल भूकम्पको उच्च जोखिम रहेको देश मानिन्छ। जमिनमुनि ऊर्जा सञ्चय भएपछि पृथ्वीका प्लेटहरू सर्दा हुने हलचलले नेपालको सतही भूभागमा भूकम्पको धक्का महसुस गराउने गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - ०६:५९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology