Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन् संघीय सांसदले पाउने सेवा र सुविधा

यी हुन् संघीय सांसदले पाउने सेवा र सुविधा

दैनिकी न्यूज

१४, पौष २०७९
यी हुन् संघीय सांसदले पाउने सेवा र सुविधा
images

काठमाडौं । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा ९एमाले०को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभएको छ। साथै प्रथम चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको पहिलो बैठक बस्नेछ।

अहिले प्रतिनिधि सभामा युवा सांसदको उपस्थिति बाक्लो छ। नयाँ दल नयाँ सांसदका कारण यो पटक संसद बैठक महत्त्वपूर्ण हुने अपेक्षा धेरैले गरेका छन्। सांसदको तलब भत्तासमेत आम चासोको विषय हो।

प्रतिनिधि सभा सदस्यको पारिश्रमिक र भत्ता
प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन्। त्यस्तै मासिक रुपमा विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार र धारा, पानीको नाममा दुई हजार गरेर मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।

त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदले मासिक १८ हजार पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेले ९ हजार रुपैयाँ पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ।

सांसदले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत एक हजार र सभा तथा बैठकमा आवतजावतको लागि थप एक हजार रुपैयाँ पाउनेछन्। थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ। स्वकीय सचिवको सेवा सुविधा स्वयं स्वकीयको नै खातामा जानेछ।

सांसदले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत दुई हजार पाँच सय पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन्। त्यसैगरी देशको प्रतिनिधित्व गर्दै वा संसदको कामको सिलसिलामा विदेश जानुपरेमा संसद्‍ सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउने छ।

त्यस्तै सांसदहरुले उपचार खर्चसमेत पाउने गरेका छन्। कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ। त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने छन्।

सांसदले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा तीन महिनासम्मको लिन सकिने व्यवस्था रहेको छ। विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा एक वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ। यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - ०६:५३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology