Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लमजुङको चुनावी विश्लेषण–देवलाई पृथ्वीले सरेन्डर गरिसके

लमजुङको चुनावी विश्लेषण–देवलाई पृथ्वीले सरेन्डर गरिसके

दैनिकी न्यूज

३०, कार्तिक २०७९
लमजुङको चुनावी विश्लेषण–देवलाई पृथ्वीले सरेन्डर गरिसके
images

बाम–लोकतान्त्रिक गठबन्धनबाट लमजुङका प्रतिनिधिसभा उमेदवार देवप्रसाद गुरुङ समकालीन राष्ट्रिय ब्यक्तित्व हुन् । उनी माओवादी केन्द्रका महासचिव हुन् । उनका प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरुङ भने एमालेका उपमहासचिव हुन् ।

संयोग कस्तो छ भने उनै पृथ्वीको समर्थनमा २०७४ मा लमजुङबाट जितेका देवप्रसाद पृथ्वीको आफैं संघीय चुनाव लड्ने अनिच्छाका बाबजुद अहिले चुनावी आमने–सामनेमा छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी प्रदेशसभामा एमालेले बहुमत ल्याए पनि, नल्याए पनि लमजुङको प्रदेश तहबाटै उमेदवार हुन चाहन्थे । भोलिको समीकरणले आफूलाई फेरि मुख्यमन्त्रीमा अनुमोदन गर्ने बिश्वास उनमा थियो ।

प्रदेशमा पृथ्वी जित्थे कि हार्थे, जितेमा उनी नै मुख्यमन्त्री बन्ने ’पोजिसन’ एमालेको आउँथ्यो कि आउँदैनथ्यो वा बहुमत नआए पनि समीकरणमा उनी नै हावी हुन्थे कि हुदैनथे– ती पृथ्वीकै सोचका कुरा हुन् । तर, पृथ्वीका ती सोचलाई एमाले अध्यक्ष केपी ओलीले जानाजान र योजनाबद्ध समाप्त गरिदिए ।

राजनीतिमा ओलीले सकारात्मक भन्दा बढी नकारात्मक उत्तोलकको भूमिका खेलेका छन् । तर, उनका नकारात्मकताहरूले प्रतिपक्षीलाई नै फाइदा दिएका छन् । कसरी भने लमजुङको यथार्थमा, ओलीले पृथ्वीको कुरा सुनिदिएनन् । पूर्व मुख्यमन्त्रीका रूपमा प्रदेशमा जित्ने संभावनाका पृथ्वीलाई उनले हेभिवेट माओवादी केन्द्रका महासचिव देव गुरुङबिरुद्ध प्रतिनिधिसभामा खडा गरिदिए भने आफ्ना सधैंका यस म्यान जमिन्द्रमान घलेलाई प्रदेशमा खडा गरिदिए । फलतः पृथ्वी र जमिन्द्र दुबै हारको सन्निकट बनेका छन् भने गठबन्धनका देवप्रसाद गुरुङ र दुबै प्रदेश उमेदवार जीतको सुनिश्चित पर्खाइमा छन् । स्थानीय चुनाव परिणाम अनुसार समेत लमजुङमा काँग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनकै बहुमत छ ।

ओली समूह नछाडे पनि ओलीलाई नसुने जस्तो गरेर पृथ्वीले आम बौद्धिक एवं सचेत तहलाई अलिकति प्रभाव र भ्रममा पारेका थिए । संघीयता बिरोधी भावनाका ओलीले हिजो अशोक राईसँगै पृथ्वी लगायतलाई पार्टीबाट बहिर्गमित गर्न खोज्दा माधव–झलनाथकै जोडबलमा पृथ्वी एमालेमा टिकेका थिए । पोहोर पार्टी बिभाजन हुँदा पनि पार्टीले पेलेको, आफैंलाई पेलेको अनुभूति पृथ्वीलाई सर्बत्र भएको थियो । कयौं सन्दर्भमा ओलीलाई ड्यासिङ दिएर पनि, खै के बाध्यताले हो उनी रुझेको बिरालो झैं एमालेमै, ओली वरिपरि नै टाक्सिरहे । र, टाक्सिनुको चोट सायद यो चुनावमा भोग्दैछन् ।

देव गुरुङ भने यस्ता आरोह–अवरोह भन्दा टाढा छन् । उनलाई जे लाग्छ, त्यही बोल्छन् । माक्सवादी, लेनिनवादी र माओवादी, राष्टि«य स्वाधीनताका मूल्यका सतिसाल देवप्रसाद माओवादी केन्द्रभित्रका पनि एक बिद्रोहका संवाहक, सैद्धान्तिक एवं बैचारिक नेतृत्व हुन् । कहिलेकाही पार्टीले दायाँबायाँ गर्न खोज्दा हस्तक्षेप गर्न सक्ने हैसियत र क्षमताका ब्यक्तित्व हुन् उनी । न त पार्टी मान्यताका जननीतिका सन्दर्भमा उनीसँग कसैले सम्झौता गर्न सक्छ, न राष्ट्रियता वा देशभक्तिका सन्दर्भमा । प्रचण्ड नेतृत्वसँग मोहन बैद्य, रामबहादुर थापामगर, विप्लव सहित भएर छुट्टिदा पनि उनले नेतृत्व कौशलता कहिल्यै गुमाएनन् । एक सादा, सोझो, नैतिक, इमान्दार, सहज, बौद्धिक तर कम्युनिष्ट मूल्य–बर्ग चेतनाको कुशल नेतृत्व गुण भएर नै उनी राजनीतिलाई बस्तुगत परख गर्ने क्षमता राख्छन् । आज उनी प्रचण्डको क्रान्तिकारी गतिशीलतामा एकाकार छन् भने मोहन बैद्य जस्ता सैद्धान्तिक नेताका कयौं मनोगत कमजोरी भए पनि सापेक्ष सम्मान गर्छन् । रामबहादुर थापा लगायतको वियोगान्त पतनलाई भने उनी सख्त घृणा गर्छन् ।

माओवादी केन्द्रमा बर्षामान पुन र जनार्दन शर्माको रस्साकस्सी भएर तिनलाई सन्तुलन गर्न अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाए भन्ने भ्रम धेरैलाई छ । त्यो भने बिल्कुलै होइन । बर्षामान र जनार्दनका गुरु हुन् देव गुरुङ । आफ्नै बर्गबौद्धिक क्षमताले स्थापित भएका नेता हुन् । अध्यक्ष प्रचण्डको नेतृत्वमा तर एक मूल्यशील बैचारिक धारको नेतृत्व हुन् उनी । रामबहादुर थापामगर, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतको पतनपछि माओवादी केन्द्रले नेतृत्वबारे नयाँ शिराबाट सोचेकै देखिन्छ । त्यसैले राष्ट्रिय ब्यक्तित्वका रुपमा, एक राजनीतिक, सैद्धान्तिक र जनन्यायिक बिकास नेतृत्वका रूपमा उनी लमजुङबाट स्वतः अनुमोदन हुनेछन् । उनको बोल्ड ब्यक्तित्वका अगाडि पृथ्वी सुब्बा गुरुङसहितका प्रतिद्वन्द्वीहरू चुरचुर भैसकेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - ०७:४२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology