Logo

आइतवार, आश्विन २५ गते २०८३

images

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ– प्रचण्ड

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ– प्रचण्ड

दैनिकी न्यूज

२५, कार्तिक २०७९
छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ– प्रचण्ड
images

राजेन्द्र न्यौपाने/गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनु भएको छ।
बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ।’
निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ। म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उहाँले बताउनु भयो ।
राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाई थियो।
आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो।
चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुग्नुभएका अध्यक्ष प्रचण्ड मुच्चोक, जौवारी, ताकु लगायतका कार्यक्रममा सहभागी हुने बताइएको छ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०७:१६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology