Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

दैनिकी न्यूज

२०, कार्तिक २०७९
सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’
images

डोटी । ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच गत भदौ २ गते पश्चिम सेती जलविद्युत् आयोजनासँगै सेती–६ को सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको सम्झौतासँगै पश्चिम सेती निर्माण हुने अपेक्षाका साथ उम्मेदवारले चुनावी अभियानमा यही विषयलाई प्राथमिकतामा राखेका छन्।

सत्ता साझेदार गठबन्धनका उम्मेदवार एवं नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य प्रेमबहादुर आलेले प्रधानमन्त्री देउवाकै उपस्थितिमा सम्भाव्यता अध्ययन सम्झौता भएको र यसको निर्माण प्रक्रिया अघि बढाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “४० वर्षअघि नै सन् १९८० मा फ्रेन्च कम्पनी स्रोग्रेह कन्सल्टेन्टले सुरु गरेको पश्चिम सेती जलविद्युत् आयोजना अध्ययन अब पूरा हुन्छ। त्यसपछि यही गठबन्धन सरकारले पश्चिम सेती निर्माण सम्पन्न गर्छ।”

नेकपा ९एमाले०का प्रतिनिधि सभा उम्मेदवार एवं नेत्री गौरीकुमारी ओलीले पनि आफ्नो चुनावी मुद्दा पश्चिम सेती नै बनाउनुभएको छ। सरकारले सन् २०१२ मा चिनियाँ कम्पनी सीटीजीआईलाई निर्माण गर्न दिने सम्झौता गरे पनि काम अघि बढेन। प्रस्तावित सेती पश्चिम ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना बन्नेछ। यसको कुल लागत एक अर्ब ३२ करोड अमेरिकी डलर प्रारम्भिक अनुमान गरिएको छ।

पूर्वमन्त्री आले २०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ३२ हजार ५१० मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ३० हजार ८७८ मत पाउनुभएको थियो। स्थानीय तह निर्वाचनमा डोटीमा कांग्रेस पहिलो दल भएको छ। कांग्रेसले ३४ हजारभन्दा बढी मत पाएको छ। एकीकृत समाजवादीले तीन हजार दुई सय मत पाएको थियो। कांग्रेसले नौमध्ये सात पालिका र माओवादी केन्द्रले दुई पालिका जितेको छ। सत्ता गठबन्धनका उम्मेदवार आलेले भन्नुभयो, “सत्ता गठबन्धनको मत भार बढी छ। साथै एमालेका साथीहरूले पनि मलाई साथ दिनुभएको छ, त्यसैले डोटीमा प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा गठबन्धनले जित्ने निश्चित छ।”

२०७० को संविधान सभा निर्वाचनमा डोटी क्षेत्र नं। २ बाट निर्वाचित नेता आले २०६९ मा अखण्ड सुदूरपश्चिम आन्दोलनको अगुवाइ गर्नुभएको थियो। उहाँले भन्नुभयो, “समुन्नत डोटीको सङ्कल्प पूरा गर्ने लक्ष्यअनुसार मैले उम्मेदवारी दिएको हुँ, एमालेको ठूलो मत मलाई आउँछ। गठबन्धनको बलियो साथ छँदै छ।”

कांग्रेस नेता एवं गठबन्धनका प्रचार प्रसार समिति संयोजक भरत खड्काले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जित्ने बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टीको निर्देशनअनुसार सम्पूर्ण नेता–कार्यकर्ता गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनुभएको छ। पार्टीभित्र आन्तरिक एकता भएपछि चुनावी अभियान तीव्र रूपमा अघि बढेको छ।” एमाले उम्मेदवार ओलीले महिलाको मत तान्ने प्रयास गरिरहनुभएको छ। तर पार्टीभित्र आन्तरिक विवाद र फुटको असर आफ्ना लागि चुनौती रहेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “मतदातामाझ जाँदा प्रतिक्रिया राम्रै छ तर पार्टी विभाजनले केही मत तल–माथि हुन्छ कि भन्ने चिन्ता छ।”

यो खबर आजको गोरखापत्र दैनिकमा अशोक अधिकारी, पुष्कर भण्डारी र पवन महराले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०६:४२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology