काठमाडौँ । नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।
सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।
भदौ ६ गते उनी टी–२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।