Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

दैनिकी न्यूज

९, कार्तिक २०७९
बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने
images

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन्। सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएका थिए ।

बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे। राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बङ्गलादेशस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - ०८:२१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology