Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि

ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि

दैनिकी न्यूज

२९, आश्विन २०७९
ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि
images

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्( माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) । नेकपा (एमाले) ले यो क्षेत्रबाट पार्टी सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै पाँच दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका माओवादीका उम्मेदवार बुढाक्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन । बरु बुढाक्षेत्री भट्टराईभन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी बनेका छन् ।

को हुन् बुढाक्षेत्री ?
बुढाक्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले सघाएको छ ।

तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका बुढाक्षेत्री पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो ।

उनी जिल्लाको राजनीतिमा स्थापित नेता हुन् । 'पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको छु,' बुढाक्षेत्री भन्छन्, 'यहाँका हरेक समस्यासँग परिचित छु । सम्भावनाबारे जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।'

ताप्लेजुङलाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको बुढाक्षेत्री बताउँछन् ।

'म आफैँ कृषक हुँ । ताप्लेजुङमा किबी फलको खेती भित्र्याउने मै हुँ । यहाँको कृषि क्षेत्रको हरेक समस्या मलाई जानकारी छ,' बुढाक्षेत्री भन्छन्, 'यहाँका थुप्रै भूमिमा सिँचाइको सुविधा पुगेको छैन । किसानहरू समस्यामा छन् । त्यसको पनि समाधान गर्नुपर्ने छ ।' कृषिको उत्पादन बढाएर प्रशोधन र बजारीकरणको उपयुक्त व्यवस्था मिलाउने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यसो त ताप्लेजुङ जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी कतिपय योजनाहरू सम्पन्न भएका छन्, कति निर्माणाधीन छन् त कति बन्ने चरणमा छन् । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यस्तै ताप्लेजुङका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि बुढाक्षेत्रीले प्रमुखताका साथ अगाडि सारेका छन् । 'यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,' उनी भन्छन् ।

सरकारी सेवासुविधामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनी बताउँछन् । 'यहाँ कर कार्यालय छैन । कर तिर्न पाँचथर पुग्नुपर्ने बाध्यता छ,' बुढाक्षेत्री भन्छन्, 'कर तिर्न जाँदा-आउँदा मात्रै धेरै पैसा खर्च हुने गरेको छ । म निर्वाचित भएपछि ताप्लेजुङमा कर कार्यालय खोल्न पहल गर्छु ।'

शिक्षाको विकासलाई पनि उनले आफ्नो एजेन्डा बनाएका छन् । जिल्लामा बहुप्राविधिक शिक्षालय खोल्ने, विज्ञान विषयको अध्ययनरअध्यापनको व्यवस्था मिलाउनेदेखि विद्यालयहरूलाई स्रोतसाधन उपलब्ध गराउने उनको योजना छ । '२१औँ शताब्दीमा शिक्षाको ठूलो महत्त्व छ । हामी प्राविधिक शिक्षामा अलि पछाडि छौँ । अब त्यस्तो हुनुहुँदैन । हाम्रा सन्ततीले पनि प्राविधिक शिक्षा पढ्ने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था मिलाउँछु,' उनी भन्छन् ।

केहो जित्ने आधार ? (जहिले पनि जनतासँगै छु)

बुढाक्षेत्री आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् ।

'म ताप्लेजुङमै जन्मिएँ, ताप्लेजुङमै हुर्किएँ, जीवनको धेरै लामो समय यहीँ बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु,' उनी भन्छन्, 'यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि ताप्लेजुङकै जनताको सेवामा हुनेछु ।'

अघिल्लो पटक चुनाव जितिसकेका एमालेका 'हेभिवेट' उम्मेदवार योगेश भट्टराईसँगको प्रतिस्पर्धा सहज होला र ? भन्ने प्रश्नमा उनी भन्छन्, 'योगेशजीलाई जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँ (भट्टराई) ले पाँच वर्षमा गरेका राम्रा र नराम्रा कामको हिसाब जनतासँग छ ।'

जनताले 'फ्रेस' मान्छे खोजेको बुढाक्षेत्रीको तर्क छ । यसैलाई उनले आफ्नो जित्ने आधारका रूपमा प्रस्तुत गरेका छन् । 'फ्रेस जनतप्रतिनिधि चुन्ने ट्रेन्ड छ । जनताले फ्रेस मान्छे खोजेका छन्,' बुढाक्षेत्री भन्छन्, 'म फ्रेस मान्छे हो । निर्वाचित भएँ भने पूरा समय जनताको काम गरेर बिताउँछु ।'

तर, गठबन्धनमा असन्तुष्टि पनि होला त्यसले तपाईंलाई असर गर्दैन ? भन्ने प्रश्नमा बुढाक्षेत्री भन्छन्, 'यहाँ गठबन्धनमा कुनै समस्या छैन । गठबन्धनमा एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छ । ताप्लेजुङको गठबन्धनमा कुनै विवाद छैन ।'

स्थानीय निर्वाचनको परिणाम पनि बुढाक्षेत्रीको पक्षमा

गत स्थानीय निर्वाचनको परिणामले पनि ताप्लेजुङमा गठबन्धनको अवस्था बलियो रहेको देखाउँछ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख जितेको छ भने एमालेले ३ पालिकाको प्रमुख जितेको छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भएका थिए ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा लामा निर्वाचित भएका थिए ।

त्यस्तै मेरिङदेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युक हां विर हांगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका थिए ।

त्यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेम र उपाध्यक्षमा नेपाली कांग्रेसकी कमल कुमारी लिम्बु निर्वाचित भएका थिए ।

त्यस्तै सिरीजङ्घ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल कृष्ण चौहान र उपाध्यक्षमा माओवादी केन्द्रका चित्रकुमार लिम्बु निर्वाचित भएका थिए ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको मेयरमा पनि कांग्रेसका अमिर मादेन निर्वाचित भएका थिए । यो नगरपालिकाको उपमेयरमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले निर्वाचित भएको थियो । यो गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र पोमुख र उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ निर्वाचित भएका थिए ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । यो गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ निर्वाचित भएका थिए ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको थियो भने उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्ण कुमारी कडरिया निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - ०८:१७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology