रूपन्देही । निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङको उम्मेदवारी रद्द गरिदिएको छ ।
उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए । उनीसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी पनि खारेज भएको छ ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ ।
उम्मेदवार गुरूङ आँफै अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो ।