Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उम्मेदवारी दर्ता लगत्तै वेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती

उम्मेदवारी दर्ता लगत्तै वेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती

दैनिकी न्यूज

२४, आश्विन २०७९
उम्मेदवारी दर्ता लगत्तै वेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती
images

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन् । पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आज काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन् ।

उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी हुन् । मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् ।

पोखरेललाई राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन् । पोखरेलको अवस्था अझै पत्ता लागेको छैन ।

रोल्पाली चेली घर्तीले अबको राजनीतिक जिवन काठमाडौं २ मा समर्पण गर्ने र यो क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन् । वेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा छोरी सम्झिन आग्रह गर्दै वेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताईन ।

माओवादी जनयुद्धमा प्रत्येक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामा समेत सहिद तथा वेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्येक्ष रुपमा अनुभव गरेको सुनाईन् ।

वेपत्ता परिवारसँगको भावपूर्ण भेटघाटमा वेपत्ता नागरिक अधिकारीका आमाले आफ्नो छोरा छोरी नै माओवादी पार्टी रहेको रुंदै सुनाईन् । उनले आफ्ना छोराको सपना साकार पार्न माओवादीले जित्नै पर्ने भन्दै उम्मेदवार घर्तीलाई विजयको शुभकामना दिएकी छन् ।

संघीय संसदको प्रतिनिधि सभामा सभामुखको सफल कार्यकाल व्यतित् गरेकी घर्तीलाई नेकपा माओवादी केन्द्रले काठमाडौं २ को टिकट दिएपनि उनी आइतबारदेखि चुनावी मैदानमा उत्रिएकी हुन् ।

पार्टीको निर्णय र आफ्नो चाहानाको समिश्रणका रुपमा आफूले टिकट पाएको बताएकी नेता घर्तीले संविधान कार्यान्वयन गराउने र देशको विकास गर्ने गठबन्धनको मिसन रहेको र त्यसलाई सिंगो गठबन्धनले नै जिताएर सफल पर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

काठमाडौं २ मा संघीय संसदमा घर्तीसँगै प्रदेश क मा नेपाली काँग्रेसले ध्रुव केसीलाई अघि सारेको छ भने ख मा एकीकृत समाजवादीले भरतप्रसाद फुँयाललाई टिकट दिएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - १०:५३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology