ललितपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का लागि २३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिइन ।
प्रतिनिधिसभाका लागि विभिन्न दलबाट १४ र नौ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको समयभित्रै उम्मेदवारी दर्ता गराएको उनले बताइन । प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने मध्ये एक महिला छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ का लागि पाँचदलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट प्रेम महर्जनले उम्मेदवारी दर्ता गराए । कृष्णलाल निवर्तमान संघीय सांसद हुन् ।
प्रदेशसभा ललितपुर २ (क) निर्वाचन क्षेत्रका लागि १० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र दुई स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये दुई महिला उम्मेदवार छन् ।
प्रदेशसभा ललितपुर २ (क) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी रिशा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छिन् भने एमालेको तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । रामेश्वर महालक्ष्मी नगरपालिकाको निवर्तमान नगर प्रमुख हुन् ।
प्रदेशसभा ललितपुर २ (ख) का लागि ११ उम्मेदवारले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउनेमा विभिन्न दलबाट आठ र तीन स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभा सदस्यका लागि दावेदारमध्ये दुई महिला उम्मेदवार छन् ।
प्रदेशसभा ललितपुर २ (ख) लागि पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण चित्रकारले उम्मेदवारी दर्ता गराए भने एमालेका तर्फबाट ज्ञानेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराए । चित्रकार विसं २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए शाक्य निवर्तमान प्रदेशसभा सदस्य हुन् ।