काठमाडौं । सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ । केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ ।
जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आज भोलिभित्र जसरी पनि सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबाब गठबन्धनलाई छ।
सिट बाँडफाँटको टुंगो लागिसकेपछि गठबन्धनका दलहरुले आफ्नो भागमा परेका सिटको टिकट वितरण सुरु गर्नेछन्।