Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, पास हुनेमा सकस

दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, पास हुनेमा सकस

दैनिकी न्यूज

२१, भाद्र २०७९
दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, पास हुनेमा सकस
images

काठमाडौं । सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएका छन् । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकमा सन्देशसहित गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसद्समक्ष जानकारी, अध्ययन र विर्मशका लागि सातबुँदे र ध्यानाकर्षणका लागि भन्दै अर्को आठबुँदे सन्देश पठाएकी थिइन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन ।

प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो । त्यस्तै, राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो । राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयकमा कुनै परिवर्तन भएन । राष्ट्रिय सभाले संसदीय समितिमा पठाए पनि पर्याप्त छलफल हुन पाएन । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसद्बाट प्रस्तुत रूपमा (जस्ताको तस्तै) वा संशोधनसहित पारित गर्न सक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन ।

राष्ट्रिपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य वामदेव गौतम र विमला राई पौड्यालले पर्याप्त छलफलको माग गरेका थिए । उनीहरूले जस्ताको त्यस्तै पारित गरिनुले राष्ट्रपति कार्यालयको अपमान हुने धारणा व्यक्त गरेका थिए । उनीहरूले आवश्यक छलफल र परामर्शबिना परित गरिएकोमा आपत्ति जनाएका थिए । राष्ट्रिय सभाले विधेयक पारित गरेको जानकारी आइतबार प्रतिनिधि सभालाई पठाएको थियो । राष्ट्रिय सभाको सन्देश प्राप्त भएलगत्तै सोमबारै सभामुख अग्नि सापकोटाले विधेयक राष्ट्रपति कार्यालयमा पठाएका हुन् ।

‘हामीले ‘पुनर्विचारका लागि विधेयक फिर्ता आएकोमा दुवै सदनले प्रस्तुत रूपमा नै पारित गरेको हुनाले प्रमाणीकरणका लागि पेस गरेको छु’ भन्ने पत्र तयार पारेर सभामुखलाई दिएका थियौं,’ प्रतिनिधि सभाको विधेयक शाखाका उपसचिव नारायण ढकालले भने, ‘सभामुखले प्रमाणित गरेलगत्तै हामीले राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाएका छौं ।’ आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०७:४८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology