Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मानव तस्करीबारे अनुसन्धान सुरु

मानव तस्करीबारे अनुसन्धान सुरु

दैनिकी न्यूज

१२, भाद्र २०७९
मानव तस्करीबारे अनुसन्धान सुरु
images

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।

बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गराएको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो। उहाँले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोलाई निर्देशन दिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “प्रारम्भिक चरणको अनुसन्धानबाट बनावटी कागज तयार गरी भिजिट भिसा दुरुपयोग भएको देखिएको छ। यसबारे हामी गम्भीर अनुसन्धान गरिरहेका छौँ।” अधिकांश यात्रुको कागजपत्र बनावटी र नक्कली भएको शङ्कापछि सीआईबीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले यात्रुका कागजपत्र अनुसन्धान भइरहेको बताउनुभयो।

विमानस्थलबाट फर्काइएका अधिकांश यात्रुलाई कुवेतबाट इरान र इराक पु(याउन लागिएको शङ्का प्रहरीले गरेको छ। यसअघि ती मुलुक पु(याइएका सयभन्दा बढी महिला बेचविखनमा परेका थिए। मानव तस्करीको शङ्कामा मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टै अनुसन्धान अघि बढाएको छ। ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भिजिट भिसाको माध्यमबाट हुन सक्ने मानव तस्करी तथा तस्करीमा संलग्न हुन सक्ने व्यक्तिबारे समेत अनुसन्धान सुरु गरिएको बताउनुभयो। मानव बेचविखनविरुद्धको कसुरमा अनुसन्धान गर्न पीडितको उजुरी आवश्यक पर्ने भएकाले ब्युरोले पीडितसँग सोधपुछ गरिरहेको मल्लले बताउनुभयो।

भिजिट भिसामा जाने अधिकांश यात्रुको दुईतर्फी टिकट अनिवार्य गरिएको छ। अध्यागमन पार गरेपछि अधिकांश यात्रुले फिर्ता हुने टिकट रद्द गराएको पाइएको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यी घटनामा त्रिभुवन अध्यागमन विभागको मिलेमतो हो वा कमजोरी भन्ने प्रश्न उठेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - ०६:४७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology