Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पानी र बिजुली साटासाट

पानी र बिजुली साटासाट

दैनिकी न्यूज

३, भाद्र २०७९
पानी र बिजुली साटासाट
images

दाङ । नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन ।

नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ ।

दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ । विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ । पानीका स्रोत ९कुवा, धारा० भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ । त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ । उता बालापुरको जरुवा क्षेत्रमा बिजुली छैन । त्यसको असर भारतीय सीमा सुरक्षा बललाई पर्दछ । सुरक्षाकर्मीले आपूर्ति नेपालबाट बिजुली गरेर अभाव टार्ने गरेका छन् ।

त्यसैले कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ । यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ वर्ष बितिसक्यो । नेपालतर्फ खानेपानी पाउँदा सुरक्षाकर्मी मात्र होइन स्थानीयवासी पनि खुसी छन् । गढवा गाउँपालिका–८ का पूर्ववडाध्यक्ष सद्दाम सिद्दिकीले पहिलेको तुलनामा खानेपानीको समस्या कम रहेको भए पनि हिउँदको समयमा भारतबाटै पानी ल्याएर काम चलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी सुरक्षाकर्मीले मात्रै होइन, निःशुल्क रूपमा स्थानीयवासीले पनि ल्याउने गरेका छौँ, उहाँहरूलाई नेपालबाट विद्युत् दिएका छौँ । नेपाल भारतको प्रगाढ सम्बन्धको उदाहरण यहाँ देख्न सकिन्छ ।”

कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ ।

नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीलाई विद्युत् लाइन उपलब्ध गराउन सहजीकरणको भूमिका खेलेको छ । सशस्त्र प्रहरी बल नं. २९ गण हेटक्वाटर ज्वालामाइगढ भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले आफूहरूले विद्युत् उपलब्ध गराउन सहजीकरण गरेको बताउनुभयो ।

छिमेकीबीच ऐँचोपैँचो चलेजस्तो यहाँ पनि यस्तैगरी चलाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीकहाँ पानी हुँदैन उताबाट ल्याउँछौँ । उनीहरूले हामीलाई पानी उपलब्ध गराएका छन् । यसबाट दुवै देशका सुरक्षाकर्मीबीच थप सम्बन्ध राख्न पनि सहज भएको छ ।”

भारततर्फ भारतीय सुरक्षाकर्मीको शिविरबाहेक आसपासमा मानव बस्ती छैन । त्यसैले नेपाली बिजुली सुरक्षाकर्मीले मात्रै प्रयोग गर्छन् । यो सकारात्मक सम्बन्ध झल्काउने कार्यबाट भारतीय सुरक्षाकर्मी पनि खुसी छन् । नौ बाहिनी सशस्त्र सीमा सुरक्षाबल मुख्यालय बलरामपुर जिल्लाका प्रमुख उपेन्द्र रावतले नेपाली विद्युत्ले आफूहरूको समस्या हल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो आवश्यकताले पनि यो सिर्जना गरेको भन्दा पनि आपसी सम्बन्धको कुरा पनि हो । त्यसैले उताबाट विद्युत् ल्याएका छौँ, यताबाट पानी दिएका छौँ ।” उहाँले नेपाल–भारतको पानी र बिजुली आदानप्रदान कुनै पनि समस्या नभएको बताउनुभयो ।

भारतीय सीमा क्षेत्रमा आसपासमा बस्ती नभए पनि कोइलाबासमा भने बस्ती छ । स्थानीयवासीमा खानेपानीको समस्या छन् । नेपाली भूमिबाट पानी तानेर वितरण गर्ने योजनाअनुसार पानीका धारा वितरण भए पनि प्रशस्त मात्रामा पानी आउन सकेको छैन । कोइलाबासमा एक सय धारा वितरण गरिए पनि पानी नआएको स्थानीयवासीको गुनासो छ ।

स्थानीय कल्लु सिद्दिकीले धारामा पानी झार्न भरपर्दो पानीको स्रोत नहुँदा कोइलाबासमा पानीको दुःख बढ्दै गएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा दिवाकर पोख्रेलले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - ०६:४३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology