काठमाडौं । विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २९ सामाखुसी बस्ने ईलाम, ईलाम नगरपालिका १ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख रुपैयाँ लिई ठगी गरी सम्पर्क बिहिन भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
त्यस्तै, दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिई ठगी गरी फरार भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ