काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको तथा राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
बुधबारदेखि भने मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताइन् ।
उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यो क्रम बधुबारदेखि रोकिने जनाएको छ ।