Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौँकै उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौँकै उम्मेदवारले बुझाएनन् खर्च विवरण

दैनिकी न्यूज

१५, श्रावण २०७९
काठमाडौँकै उम्मेदवारले बुझाएनन् खर्च विवरण
images

काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौँको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौँ जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय निर्वाचन–२०७९ मा काठमाडौँ जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन्।

काठमाडौँ महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो। कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताउनुभयो। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले असार १९ गतेसम्म निर्वाचन खर्च बुझाएका उम्मेदवारको सूची निर्वाचन आयोगमा पठाएको जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि ८२५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन्। १२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०७:३८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology