काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा १६ लाख ५० हजार रुपैयाँ जरीवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई पक्राउ गरेको छ ।
भक्तपुरस्थित ग्लोबल आइएमई बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो ।
उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरीवाना हुने ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शुक्रवार काठमाडौँको चाबहिलबाट पक्राउ गरेको हो ।