Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै

स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै

दैनिकी न्यूज

६, जेठ २०७९
स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै
images

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।

यस्तै, यसअघि दोस्रो दलको हैसियतामा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित निकाल्दै दोस्रो बनेको थियो । यसैगरी, नेकपा माओवादी केन्द्र त्यसबखत १ सय ६ स्थानमा प्रमुख/अध्यक्ष जित निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेसवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।

यस्तै, तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित निकाल्दा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पाँच स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।

यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पु-याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । यस्तै, मधेसवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् ।

‘स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन सफल भयो, गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं,’ पौडेलले भने ।

बिहीबार राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६७ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको छ भने ५६ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय १५ भन्दा बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ ।

यस्तै, नेकपा एमालेले १ सय ६८ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतभन्दा करिब ९० देखि ९५ स्थानीय तह गुमाउने देखिएको छ ।

यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बिहीबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय ७ वटा स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । राति अबेरसम्मको परिणामअनुसार जसपाले १७ स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ भने १८ तहमा अघि छ ।

यस्तै, नेकपा एसले १४ तहमा प्रमुख/अध्यक्ष जितेको छ भने पाँच तहमा अग्रता छ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले चार तहमा जित निकाल्दा आठ तहमा अग्रता लिएको छ भने अन्य २३ साना दलले स्थानीय तहमा सिट सुरक्षित गर्दै गर्दा १० स्थानीय तहमा ती दलको अग्रता छ ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसबाट २ सय ४५ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, ५५ तहमा उपप्रमुख/उपाध्यक्ष पदमा कांग्रेस अघि छ ।

यसैगरी, १ सय ८३ स्थानीय तहमा एमालेका उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी ५० तहमा एमालेको अग्रता छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका १ सय १५ जना उपप्रमुख÷उपाध्यक्ष विजयी बन्दा १२ स्थानमा अग्रता छ । यसैगरी, नेकपा एसका १८ उपप्रमुख/उपाध्यक्ष निर्वाचित बन्दा पाँच तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष पदमा १६ स्थानमा जित निकालेर १४ तहमा सो पदमा अग्रता लिएको छ ।

यस्तै, लोसपाले उपप्रमुख/उपाध्यक्षमा पाँच तहमा जितेको छ भने पाँच तहमा नै अघि छ । यसैगरी, अन्य दलका १५ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित बन्दा दुई तहमा अग्रता छ ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०६:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology