गोरखा । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएका छन् । अध्यक्षमा निर्वाचित लामाले १ हजार ६ सय २४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगेसका उम्मेदवार धनबहादुर गुरुङ १ हजार ३ सय ११ मत ल्याएर पराजित बने ।
उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ५ सय ६५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार मेतोक छोकी लामाले १ हजार ३ सय ७ मत ल्याएर पराजित भइन् ।
७ वडा रहेको चुमनुब्री गाउँपालिकाको मतगणना बिहीबार मध्यराति सकिएको छ । पाँच वडाको वडाध्यक्षमा कांग्रेसका उमेदवार विजयी बनेका छन् भने २ वडाको वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।
२०७४ को निर्वाचनमा चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए । चुमनुब्रीको अन्तिम परिणाम आएसँगै गोरखाको ११ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।